दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ । आज मंगलबार लुम्बिनी प्रदेशसभामा भएको मत बिभाजनमा चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको थियो भने राप्रपाले कतै पनि मत नदिने निर्णय गरेको थियो ।प्रदेशसभामा राप्रपाका चार जना प्रदेशसभा सदस्य रहेका छन् ।
लुम्बिनी प्रदेशसभामा सत्तारूढ केहिदिन अघि ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।
लुम्बिनीमा चौधरी नेतृत्वको सरकारमा हाल ३ जना बिना विभागीय मन्त्री नियुक्त भएका छन् । जसमध्ये माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बन्न सफल भएका छन् ।मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गर्नुभएको थियो।