Logo
७ मंसिर २०८१, शुक्रबार

एकल आमाबाट जन्मेका बच्चाको मावलीको थर लेख्ने प्रक्रिया सच्चियो

century-mk

काठमाडौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केहिदिन अघि मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नवराज जैसीका अनुसार ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा पहिलेको गरेको निर्णय परिबर्तन गरि ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरिएको छ।

बच्चालाई जन्म दिने आमाको लैंगिक भूमिकाको उच्च सम्मान गर्दै परिपत्र सच्याएको विभागका निर्देशक नवराज जैसीले बताउनु भयो। यसअघिको परिपत्रमा दुईवटा व्यवस्था यस्ता थिए ,पहिलो, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएकोु बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने।

दोस्रो, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा’ भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने।

आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्र आलोचित भएपछि विभागले यी व्यवस्थाको सट्टा बच्चा जन्मिँदा कायम रहेको आमाको थर नै कायम गरेर बच्चाको जन्म दर्ता गरिदिने व्यवस्था गर्दै आइतबार परिपत्र जारी गरेको जनाएको छ।