Logo
८ मंसिर २०८१, शनिबार

भोलि देखि सुरु हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा – आयोजक

century-mk

काठमाडौं : 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा यहि  चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मध्यको एक राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । महासम्मेलनमा सहकारी क्षेत्रको हाल सम्मको  उपलब्धी, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या र  समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा ब्यापक  छलफल हुने महासंघका अध्यक्ष मिनराज कडेलले जानकारी दिनु भयो  । साथै महासम्मेलनबाट सन् २०३० सम्मको कार्यदिशा पनि तय गरिने बताउनु भयो  । दक्षिण एशियाका अन्य देशहरू मध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिएको महासंघका अध्यक्ष कडेलले बताउनु भयो  । महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौँमा हुने अध्यक्ष कडेलले बताउनु भयो  ।

महासम्मेलनको उद्घाटन चैत २३ गते (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन चैत २५ गते (शनिबार) पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिनु भयो  । महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल गरी घोषणा पत्र जारी गरिने महाप्रबन्धक सुब्बाले बताउनु भयो  ।

राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करिब एक  हजार जनाको सहभागिता रहने आयोजक सहकारी महासंघले जनाएको छ ।

महासम्मेलनमा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, बैंकर अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल र राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैगरी महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव सुरेन्द्र पाण्डे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले पनि कार्यपत्र प्रस्तुत गर्ने महासंघले जनाएको छ ।

यस्तै महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचिया र आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयरले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

गैर आवासीय प्रकृतिको  महासम्मेलनमा भाग लिनको लागि महासंघले पटक पटक समय सिमा तोकेर  प्रति व्यक्ति  रु पन्ध्र हजार र समय सिमा नाघेका आवेदन हरुको हकमा थप दस्तुर सहित प्रवेश शुल्क तोकेको थियो  भने हालको बिद्यमान परिस्थितिमा सहकारी क्षेत्रमा परेको  आर्थिक मन्दीका बाबजुत यस प्रकारका महंगा कार्यक्रम हरु राखेकोमा केहि सहकारी कर्मीहरुले बिमति जनाएका छन्  । अनलाइन संदेश संग को कुराकानीमा एक सहकारी कर्मीले भन्नुभयो, ” नेपलमा सहकारी संस्थाका माथिल्ला निकाय हरुले महिना दिनको फरकमा यस प्रकारका महंगा कार्यक्रम हरु राजधानीमा राख्दै गर्दा पुर्व मेची देखि पश्चिम महाकाली दार्चुला का  स साना सहकारीका  सहकारीकर्मी हरु लाइ वित्तीय व्यवस्थापन गर्न  गाह्रो हुन्छ र एस बिषयमा सरोअकार वाला निकाय हरु सचेत हुनु पर्ने देखिन्छ ” ।  यस अघि  गत फाल्गुन २४ -२५  गते नेफ्स्कुनले सोहि प्रकृतिको कार्यक्रम होटेल सोल्टीमा सम्पन्न गरेको थियो ।

नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले भने  हरेक ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको छ ।