बिगत २७ वर्ष देखि निरन्तर सहकारी क्षेत्रमा अविचलित यात्रा गरि संस्था लाइ निकै उचाई दिन सफल सल्यान मात्र नभई देश भरकै सफल व्यवस्थापक मध्ये अग्रणी स्थानमा पर्न सफल सकारात्मक सोचकी धनि ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि कि व्यवस्थापक शान्ता राई जी संग गरिएको कुराकानीमा आधारित बिचार ।
सहकारी क्षेत्रमा मेरो प्रेरणा नारायण प्रसाद शर्मा गैरे हुनुहुन्छ जो यस संस्थाको अवधारणा ल्याउने व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । उहाँ सहकारी अभियन्ताका रुपमा देश भर परिचित हुनुहुन्छ । मलाइ सहकारी क्षेत्रमा प्रेरणा र हरपल हौसला प्रदान गर्ने उहा लगाएत संचालक / लेखा सुपरिवेक्षण समितिका पदाधिकारी ज्यु हरु नै हो ।
महिला भएर विभिन्न समस्याका बाबजूद पढाइलाई निरन्तरता दिदै गर्दौ अब कुनै पेशामा आबद्ध हुनुपर्छ भन्ने सोच थियो । सोही क्रममा सल्यानमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना पश्चात रोजगारीको अवसर खुल्यो । मैले पनि आवेदन दिएँ, सफल भए र संलग्नभएदेखि हालसम्म कार्यरत छु । सुरुमा सहायक द्वित्तीयको भूमिकाबाट काम सुरु गरेँ । २०५२ चैत १८ गतेबाट व्यवस्थापकको जिम्मेवारी निर्वाह गर्दै आएकी छु । यस क्षेत्रमा किन लागे भन्ने बलियो कारण खासै छैन । तर, यो पक्का हो कि यस क्षेत्रमा लागेदेखि अर्को क्षेत्रमा जाने कुनै ईच्छा पनि रहेन ।
कुनै पनि सेवा अथवा कार्यालयमा काम गर्दा महिला व्यवस्थापकका चुनौतीहरु प्राय भइराख्छन् । यो सामान्य कुरा हो । पुरुष प्रधान देश हो, चुनौतीहरु हुनु स्वाभाविक कुरा हो । खासगरी सहकारी क्षेत्रमा महिला व्यवस्थापकका चुनौतीहरु प्राय एकैनासको हुन्छन् जस्तो लाग्छ ।
साँचिक्कै भन्नुपर्दा सहकारी क्षेत्र सरकारको पहुँच नभएको ठाउँहरु र भएका ठाउँहरुका लागि पनि धेरै राम्रो क्षेत्र हो । काम गर्दै जादाँ सदस्यहरु र समुदायमा यत्रतत्र छरिएर रहेको पुँजीहरुलाई संकलन गर्दे उक्त पुँजी सदस्यहरु र समुदायको हितका लागि हो भन्ने दैनिक रुपमा आभाष हुँदै गयो र हालसम्म आइपुग्दा उक्त आभाष यथावत छ ।
मलाई लाग्छ २–३ वर्ष अगाडिको कुरा हो, मेरो लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानु पर्ने भएको थियो, जो महिला व्यवस्थापकहरुको लागि मात्र थियो । तर म महिला भएको कारणले मलाई पारिवारिक कारणले म जान सकिन । यद्यपि, हाल भने परिवार र संस्थाबाट सबै जिम्मेवारीमा सकारात्मक सहयोग पाएकी छु ।
अवसरहरु भन्ने कुरा त सर्वप्रथम आफैले सिर्जना गर्ने कुरा हो । तैपनि मेरो विचारमा महिला व्यवस्थापकका अवसरहरु भनेको राष्ट्रिय वा अन्तराष्ट्रिय सम्मेलनमा सजिलै भाग लिन सकिन्छ । आफुलाई सामाजिक रुपमा बलियो तरिकाले प्रस्तुतिकरण गर्न सकिन्छ ।
ग्रामीण साकोसको स्थापना २०५१ साल माघ २८ गते भएको हो । ३१ जनाबाट ३१ हजार पुँजी संकलन गरी साकोस स्थापना भएको थियो । प्रारम्भमा ७ सदस्यीय तदर्थ समिति रहेको संस्थाको कार्यक्षत्र खलंगा, सेजवालटाकुरा तथा मार्के गाविस थियो । हाल संस्थामा २०७९ माघ २९ गते सम्म २२६७ सदस्य छन् । शेयर पुँजी २,७९ ,०१ ,६०० रुपैयाँ, बचत १८,७९, ९५,६३६ रुपैयाँ, ऋण लगानी २०,९७,६७,२९३ रुपैयाँ, , जगेडा कोष २,६५,३१ ,०७४ रुपैयाँ र कार्यक्षेत्र शारदा नगरपालिका रहेको छ । ११ सदस्यीय सञ्चालक समितिमा थप १ आमन्त्रित सदस्यको व्यवस्था छ । हाल ७ कर्मचारी छन् भने वासलात २५,७९,६२,२३४/२८ रुपैयाँ रहेको छ ।
म व्यवस्थापक नियुक्त हुँदा संस्थामा जम्मा १३९ जना सेयर सदस्य थिए भने सेयर पुँजी ८१५०० रुपैयाँ, बचत ६,५३,५७८ रुपैयाँ र ऋण लगानी ६,८४,४७० रुपैयाँ थियो । चालु आथिर्क वर्षभित्र सेयर पुँजी ३०,२२८,०००, बचत २० करोड ८ लाख ७८ हजार ८ सय, जगेडा कोष २ करोड ७४ लाख ८० हजार रुपैयाँ, ऋण २१४६१२००० र कुल सम्पत्ति २७४८००००० पुर्याउने लक्ष्य छ । हाम्रो पुँजी निर्माणको मुख्य आधार भनेको नियमित बचत हो । हाम्रो मुल कारोबार वा स्तम्भ नै नियमित बचत हो । हालको नियमित बचत ९ करोड ३४ लाख ७ हजार ८ सय ५५ रुपैयाँ रहेको छ ।
यो बिचमा नेफ्स्कूनद्वारा सञ्चालित स्तरियकरण कार्यक्रम ‘प्रोबेसन’ कार्यक्रममा सहभागी भई लगातार ६ पटक सम्म ब्राण्ड प्राप्त गर्न सफल भएको छ भने मुख्य कुरा सञ्चालक समिति र व्यवस्थापनबीच सुमधुर सम्बन्ध र हार्दिकता कायम रहेको छ ।
धेरैजसो समय कार्यालयमा बित्छ । घरमा परिवारको सदस्य संख्या बाट साथ र सहयोग प्राप्त भएकोले घरको कामकाजमा त्यति धेरै समय दिनुपर्दैन ।
मेरो जन्म २०३२ साल असार ७ गते सल्यानमा भएको हो । म परिवारकी कान्छी छोरी हुँ । ४ दाजु १ भाई र २ दिदी हुुनुहुन्छ । बाल्यकाल सल्यानमै बित्यो । घरको आर्थिक अवस्था मध्यम थियो । हाल परिवारमा हाल आमा, दाइ–भाउजु, भाई बुहारी र भतिजी भतिजा हुनुहुन्छ । प्राथमिक शिक्षा बाल शिक्षा प्राथमिक विद्यालयमा लिएँ । थप अध्ययन श्री त्रिभुजन जन माध्यमिक विद्यालय सल्यानमा गरेँ । समग्रमा त्यसबेला शिक्षाको अवस्था नराम्रो भन्न मिल्दैन ।
संस्थामा आबद्ध भई प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न जातजाति, वर्ग, धर्ममा आस्था राख्ने सेयर सदस्यहरुलाई सेवा गर्न पाउनु नै सबैभन्दा महत्वपूर्ण उपलब्धि जस्तो लाग्छ । सहकारी क्षेत्रमा लागेर व्यक्तिगत रुपमा कुनै पछुतो छैन । सदस्यहरुलाई सेवा दिन पाउँदा थप ऊर्जा, हौसला र खुशी प्राप्त भएको छ ।
हामी ७ कर्मचारी छौं जसमध्ये ३ जना महिला छौं । सबै साथीहरुलाई आफ्नो काम र जिम्मेवारी तनाव मुक्त भएर सम्पादन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले कर्मचारीलाई दिइएको जिम्मेबारी बारे समयसमयमा छलफल गर्नुको साथै आवश्यक सर सल्लाह दिने व्यवस्था छ । यस्तै, बाह्य तथा आन्तरिक मूल्याङ्कनद्वारा वार्षिक रुपमा ‘उत्कृष्ट कर्मचारी’ पुरस्कृत गर्ने व्यवस्था छ । वर्षको अन्त्यमा कार्य सम्पादन मूल्याङ्क फाराम भर्ने र सोको आधारमा संस्थाको मानव संशाधन व्यवस्थापन नीति बमोजिम बढुवा व्यवस्था गरिएको छ ।
बाचुन्जेल सहकारी क्षेत्रमै सेवा गर्ने र सहकारीमा आबद्ध नभएका आम जनसमुदायहरुलाई आबद्ध हुन प्रेरित गरि उहा हरुको आर्थिक जिवन स्तर सुधार गराउने ।