काठमाडौं २३ मंसिर
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को आसन्न साधारण सभाले अबको चार बर्षको लागि नयाँ नेतृत्व चयन गर्दै छ । यहि पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने संघको ३२ औ साधारण सभाले नयाँ नेतृत्त्व चयन गर्ने छ । संघले सो सम्बन्धि निर्वाचन कार्यतालिका समेत सार्बजनिक गरेको छ । आगामी नेतृत्वका लागि सञ्चालक समितिको अध्यक्ष लगाएत बिभिन्न पदहरुमा नयाँ तथा पुराना अनुहार हरु आकांक्षीको रुपमा आफुलाई प्रस्तुत गराई रहेका छन् ।

अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्बजनिक रुपमा आफुलाई उम्मेदवार घोषणा गर्नु भएको छ भने वर्तमान अध्यक्ष परितोष पौड्यालले पनि आफुलाई दावेदारका रुपमा अघि सार्नु भएको छ । यद्धपि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा भने भैसकेका छैन। परितोष पौड्याल एक पटक दोहोर्याउने पक्षमा रहँदा वरिष्ठ उपाध्यक्ष ढकालले नेतृत्वका लागि पूर्णत तयार रहेको भन्दै उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाले संघको इतिहास हेर्ने हो भने पनि सबै बरिष्ठ उपाध्यक्ष अध्यक्ष बनेको भन्दै आफू अब तयार रहेको विचार अभिव्यक्त दिनु भएको छ । त्यस्तै सोहि पदका लागि निवर्तमान अध्यक्ष डिबी बस्नेतको चर्चा पनि सहकारीवृत्तमा नभएको हैन । महिला सहकारीकर्मी हरुको आवाज भने यस पटक नेफ्स्कुनले महिला नेतृत्त्व पाउनु पर्ने र सो का लागि वर्तमान उपाध्यक्ष्य शान्ति अधिकारी अघि सर्नु पर्ने एक महिला सहकारी नेत्रीले अनलाइन संदेशलाइ बताउनु भयो ।
यद्दपी सहकारीकर्मी हरुले संघको व्यवसायिक विकासमा निरन्तरता र कार्यकुशलता हेर्दा र संघको इतिहास हेर्दा यसपाली अध्यक्ष्यमा चन्द्र ढकालले बाजी मार्ने सहज अनुमान लगाउन थालेका छन् । निरन्तर प्रक्रिया अबरुद्ध हुदा यो रोग प्रारम्भिक संस्थाहरुमा सर्न सक्ने हुदा अबको ४ बर्षको लागि भए सर्वसम्मत नभए लोकतान्त्रिक पद्धति मार्फत वरिष्ठ उपाध्यक्ष्य लाइ नै नेतृत्व हस्तान्तरण गर्दा मोफसलमा राम्रो संदेश जाने सहकारीकर्मी माझ चर्चा चल्न थालेको छ । कतिपयले यो नेतृत्वको व्यवस्थापन देखिसकेको र बर्तमान परिस्थिति चिर्न नेतृत्व परिवर्तन गर्ने पर्ने समेत औल्याएका छन् ।
साथै बरिष्ठ उपाध्यक्ष्यमा बर्तमान महासचिव दामोदर अधिकारी र बर्तमान कोषाध्यक्ष दिपक पनेरुको दाबि रहने निकट श्रोतले जनाएको छ भने उपाध्यक्ष्य (महिला) मा गोमा नेपालको चर्चा चलेको छ ।


महासचिवमा बर्तमान लेखा संयोजक नवराज सापकोटा र निबर्तमान कोषाध्यक्ष केशव पोख्रेलको दावी रहन सक्ने आकलन सहकारी वृत्तमा फैलिएको छ ।
त्यस्तै कोषाध्यक्ष पदमा बर्तमान संचालक हरु जिवसराज खड्का, चण्डीप्रसाद शर्मा पौडेल र माधवप्रसाद जोशीको चर्चा रहेको छ । यद्धपि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका भने छैनन् ।
त्यस्तै लेखा संयोजक पदमा भने बर्तमान लेखा समिति सदस्य शुसिल कुमार बस्न्यातको चर्चा चलेको पाइएको छ । अन्य आकांक्षीहरुले भने भित्र भित्रै दाबेदारी प्रस्तुत गरेका छन् । घोषणा गरिसकेका छैनन् । पाए ठीक नपाए जुन सुकै पदमा भएपनि चित्त बुझाउने पक्षमा उनीहरु छन् ।
यस्तै, सञ्चालकका लागि बरिष्ठ सहकारी बिज्ञ शिव अधिकारीले आफ्नो उम्मेदवारी घोषणा समेत गर्नु भएको छ । २ दशक नेफ्स्कूनको उच्च व्यवस्थापनको जिम्मेवारी सम्हालिसकेका अधिकारीको जनसम्पर्क राम्रो रहेको र त्यही जनसम्पर्क नै आगामी निर्वाचनमा उनको विजयी शक्ति हुने धेरै सहकारी अभियानकर्मीहरुको भनाइ छ । त्यसैले उहा शसक्त दाबेदार रहेको र आफू उम्मेदवार बन्ने घोषणा सार्वजनिक रुपमा एक अन्तर्वार्तामार्फत गर्नु भएको हो । 
त्यस्तै काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगलस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै राधा कडरियाले उम्मेदवारी दिनु हुने भएको छ ।
हक्की स्वभावकी कडरियाको सहकारी अभियानमा २६ वर्ष परिश्रम र योगदान मिसिएको छ । अभियान भित्र विभिन्न तहमा बसेर काम गरेकी उहा पछिल्लो १६ वर्षदेखि पाँच तारा साकोसमा आवद्ध हुनुहुन्छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा समेत काम गरेको उहाको अनुभव छ । कडरिया राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित ‘डिल्पोमा इन को-अपरेटिभ म्यानेजमेन्ट’ का फस्ट ब्याच समेत हुनुहुन्छ ।
त्यस्तै सहकारी अभियन्ता एबम एक्सेस ब्राण्ड प्राप्त चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, बनेपाका प्रमुख सल्लाहकार बिकास बादे सञ्चालक समितिको सदस्यमा उम्मेदवारी दिने तयारीमा हुनुहन्छ ।
२०४६ सालदेखि सहकारी अभियानमा क्रियाशील बादे चण्डेश्वरी साकोसको दुई कार्यकाल (१० वर्ष) उपाध्यक्ष, २ वर्ष कार्यकारी अध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएका बादे स्वच्छ छविका सहकारी अभियन्तका रुपमा परिचित छन् । चण्डेश्वरी साकोसलाई नेपाल मात्रै नभई एशिया स्तरमै उत्कृष्ट बनाउन उनको परिश्रम र योगदान मिसिएको छ ।
नेफ्स्कूनको आसन्न चुनावी साधारण सभामा सञ्चालक बन्न तम्तयार बादे केन्द्रीय संघमा निर्वाचित भएर अभियान शुद्धीकरण र सबलीकरणको कामलाई अगाडि बढाउने सोचमा हुनुहुन्छ । ‘नेफ्स्कूनको सञ्चालन बनेर बचत तथा ऋण सहकारी अभियानलाई सुशासित, पारदर्शी र सदस्यमैत्री बनाउने र सहकारी मैत्री ऐन, कानुन निमार्णमा सरकारसँगको बहसपैरवीमा सक्रिय भएर लाग्ने सोच बनाएको छु ।’ आफूसँग प्रारम्भिक संस्था बलियो बनाउन नेतृत्वदायी भूमिका खेलेको अनुभव रहेको उहाको दाबी छ । ‘त्यसबाहेक स्वयंसेवी रुपमा अभियानमा निरन्तरता दिएको अर्को सवल पक्ष पनि मसँग छ,’ विषयगत केन्द्रीय संघ नेफ्स्कूनमा उम्मेदवारी दिने तयारीका कारण उत्साहित वादे थप्छन्, ‘मलाई पद र प्रतिष्ठाको लोभ होइन, केवल काम गर्ने भोक हो ।’
त्यस्तै सञ्चालक समितिको सदस्य पदमा धिरेन्द्र शाक्यले उम्मेदवारी घोषणा गर्नु भएको छ । कर्णाली प्रदेश, सल्यान जिल्लाको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै शाक्यले उम्मेदवारी घोषणा गर्नु भएको हो । उहा ग्रामिण साकोसका निवर्तमान अध्यक्ष समेत हुन् । पटक पटक प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल ग्रामिण साकोस हाल एक्सेस कार्यक्रममा चलिरहेको छ । 
निर्वाचनको मिति जति नजिकिदैछ, चुनावी चहलपहल त्यति बढ्दो छ । शक्तिशाली केन्द्रीय संघको सञ्चालक समितिमा अटाउन बचत ऋण सहकारी अभियन्ताहरुको कसरत शुरु भैसकेको छ । कोठे बैठक, शक्तिकेन्द्र भेट, कर्मचारी सम्मेलनदेखि दबाब, प्रभाव र प्रभुत्व प्रदर्शनका कामहरु बाक्लिन थालेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा र आफ्ना चुनाव लक्षित गतिविधि र सामाग्रीहरु पस्कन थालेका छन् ।
त्यस्तै धनेन्द्र बहादुर श्रेष्ठ संयोजक रहेको निर्वाचन उपसमितिले पौष ७ र ८ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ .
जस अनुसार पौष ७ गते प्रथम पटक मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दावी बिरोध र संसोधन, अन्तिम पटक मतदाता नामावली प्रकाशन , उम्मेद्वारको दरखास्त, प्रथम पटक नामावली प्रकाशन, उम्मेद्वारी बिरुद्ध दावी बिरोध र निर्णय को कार्यक्रम रहेको छ भने पौष ८ गते उम्मेद्वारी फिर्ता र अन्तिम नामावली प्रकाशन, मतदान, मतगणना र मत घोषणा कार्यक्रम रहेको छ । नेफ्स्कुनको साधारण सभामा भाग लिने संस्थाले यहि मंसिर मसान्त भित्र संस्था नविकरण, मासिक बचत भुक्तानी र प्रतिनिधि छनाेट गरी साे सम्बिन्ध जानकारी संघ लाई गराउनु पर्ने छ . साथै संघको उम्मेद्द्वार बन्न प्रारम्भिक संस्थाको पदीय जिम्मेवारीमा समेत रहेको हुनु पर्ने जस्ता बिषय समेटी उम्मेद्द्वारको न्युनतम योग्यता समेत सार्वजनिक गरेको छ । वर्तमान समयमा संघको र सिंङ्गो सहकारी को साख जोगाउन सदस्य संस्थाले दलीय दवाव वा अन्य प्रभावमा नपरी आफ्नो स्वबिबेक प्रयोग गरि बलियो नेतृत्व चुन्नु पर्ने बेला आएको छ ।