काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सातौँ पूर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीलाई आगामी मंसिर महिनामा महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।
बैठकले केन्द्रीय समितिलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ । साथै, ‘नेपोटिज्म’ सम्बन्धी आरोपलाई सम्बोधन गर्न कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका विषयमा निर्णय लिने तयारी गरिएको छ । संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउन पनि बैठकले निर्णय गरेको छ ।
युवाहरूलाई प्राथमिकता दिने भन्दै जेन–जेड पुस्तालाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागिता गराइने, आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिने बैठकले निष्कर्ष निकालेको छ ।
अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव पारित भएको छ भने वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका प्रस्तावलाई समेत समेटी महाधिवेशनसम्म छलफल गर्दै लैजाने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, विभिन्न विचार मिल्ने दलहरूसँग एकता गर्ने नीतिगत निर्णय पनि बैठकले गरेको छ ।