दाङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विपद्का कारण मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक छन्। ४७ जनाको भने पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा ३ पुरुषको शव भेटिएको छ। नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका र पहिचान नखुलेका ६ जनाको शव फेला परेको छ।
त्यस्तै, गोरखामा २ महिला, ८ पुरुष, एक बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव फेला परेको छ। तनहुँमा एक महिला, ५ पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ।
यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, एक बालक र पहिचान नखुलेका ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।