काठमाडौँ ।व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ सर्वोच्च अदालतको आदेशपछि आइतबार थुनामुक्त भएका छन्। आन्दोलनको घोषणा गरेपछि पाँच दिनअघि नै घरबाटै पक्राउ परेका प्रसाईँलाई सर्वोच्च अदालतले गैरकानुनी रूपमा थुनिएको भन्दै रिहा गर्न आदेश दिएको हो।
अदालत परिसरबाट बाहिरिँदै प्रसाईँले सञ्चारकर्मीहरूसँग बोल्दै सर्वोच्च अदालतप्रति धन्यवाद व्यक्त गरे। उनले वर्तमान सरकारले २७ बुँदे मागबारे छलफल गर्न विज्ञ टोली गठन गर्न तयार भएको जानकारी पनि दिए।
प्रसाईँका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहपछि बन्द तथा ठूला कार्यक्रमहरू स्थगित गरिएको भए पनि आन्दोलन भने नरोकिने बताएका छन्। हिंसाको पक्षमा आफू कहिल्यै नरहेको र देशमा थप अशान्ति नहोस् भन्ने चाहना रहेको पनि उनले स्पष्ट पारे।