दाङ । साक्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिजौरीको नवौँ वार्षिक साधारण सभा र तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष दामोदर बस्नेत (राकेश)को अध्यक्षतामा भएको सभाको उद्घाटन बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुक्तबहादुर ओली (मुकेश)ले गर्नुभयो।

उद्घाटन गर्दै ओलीले सहकारीमा नियमित बचत गर्ने बानीले नै सदस्यहरूलाई आर्थिक रूपमा सुदृढ बनाउने बताउनुभयो। उहाँले सहकारीलाई सबै सदस्यहरूको साझा संस्था भएकाले यसको सम्पत्तिको सुरक्षा र सञ्चालनमा सबैको समान जिम्मेवारी हुने उल्लेख गर्नुभयो।
सभामा वक्ताहरूले साक्षी सहकारीले छोटो अवधिमै सदस्यहरूको विश्वास जित्न सफल भएको बताउँदै सहकारीले निम्नवर्गका समुदायलाई केन्द्रमा राखी स्वरोजगार र आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने धारणा राखे।

कार्यक्रममा लेखापरीक्षक तुलसी गिरी, रेडक्रस उपशाखा मानपुरका सचिव लोकबहादुर ओली र साक्षी खबर पत्रिकाका प्रधान सम्पादक सुनिलकुमार पोख्रेललगायतले आफ्नो विचार व्यक्त गरेका थिए।
सचिव राजन लामिछानेले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रविन्द्र केसीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण संयोजक शरण जिएमले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
शिक्षा उपसमिति संयोजक गोकर्ण पौडेलको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रमको सहजीकरण सचिव लामिछानेले गर्नुभएको थियो। २०७४ सालमा स्थापना भएको सहकारीमा हाल ९५३ जना शेयर सदस्य छन्।

नयाँ समिति निर्विरोध, नेतृत्वमा पुनः बस्नेत
सभासँगै सम्पन्न तेस्रो अधिवेशनबाट पुनः दामोदर बस्नेत (राकेश)को अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ।
नव-निर्वाचित समितिमा उपाध्यक्ष भगवता भट्टराई, सचिव राजन लामिछाने, कोषाध्यक्ष रविन्द्र केसी, सदस्यहरू शान्ता पुन, मालता केसी र च्यवन भट्टराई रहेका छन्।लेखा सुपरिवेक्षण समितिको संयोजकमा शरण जिएम निर्विरोध चयन भएका छन्।
निर्वाचित पदाधिकारीहरूले पद तथा सपथग्रहण गरेका छन्। निर्वाचन समितिका संयोजक गोकर्ण पौडेलका अनुसार बस्नेतको यो तेस्रो कार्यकाल हो।