काठमाडौं : सहकारी क्षेत्रमा देखिएको तरलता संकटका बीच सहकारी क्षेत्रका व्यवस्थापन प्रमुखहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले राष्ट्रिय गोष्ठी आयोजना गर्ने घोषणा गरेको छ ।
वि.सं.२०७३ देखि प्रत्येक तीन वर्षमा हुँदै आएको बचत तथा ऋण सहकारी (साकोस) का व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी ( सि. इ. ओ. वर्कसप ) को तेस्रो संस्करण यही फागुन २४ र २५ गते काठमाडौंमा हुने भएको हो ।
“प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने नारा सहित सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयविज्ञहरुको सहजीकरण रहने नेफ्स्कूनले जनाएको छ ।
साकोस अभियानको मार्गदर्शन , वित्तीय प्रविधिहरुको विकास र आन्तरिकीकरण, साकोस अभियानको दीगो विकासमा अन्तर्राष्ट्रिय अनुभवहरु, वित्तीय सहकारीको छवी निर्माण र संरक्षण, विश्व अर्थतन्त्र र सहकारीमा परेको प्रभाव, साकोस अभियानका सफल व्यवस्थापन प्रमुखहरुको अनुभवका साथै व्यवस्थापन क्षेत्रको नयाँ अवधारणा ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स लगायतका विषयहरुमा दुई दिनसम्म छलफल हुने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले जानकारी दिनु भयो ।
गोष्ठीमा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तिहरु साथै देशभरबाट उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाका करिब ४ सय व्यवस्थापन प्रमुख हरुको सहभागिता रहने आयोजक नेफ्स्कूनले जनाएको छ। काठमाडौंको द सोल्टी होटलमा आयोजना गर्न लागिएको गोष्ठीको लागि सहभागी नाम दर्ता लगायत अन्य व्यवस्थापकीय कार्यहरु अगाडि बढाइएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनु भयो ।