Logo
१८ मंसिर २०८१, मंगलवार

लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम प्रदेश सभामा पेश : हेर्नुहोस् मुख्य १३ कार्यक्रम

century-mk

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को  नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेशका १२ जिल्लालाई समेटेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा केही नयाँ कार्यक्रम राखिएको भएपनि आज प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई प्राथमिकता दिइएको  छ ।

हेर्नुहोस् ,नीति तथा कार्यक्रमका मुख्य-मुख्य अंश:

-स्थानीय तहसँगको सहकार्यमा १० वर्षे रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने ।

-लुम्बिनीमा उद्योगको विस्तार, सबैलाई सहज स्वास्थ्य सेवासहित संघीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचालन गर्ने ।
-कृषि प्रदेशको समृद्धि, किसानको हात प्रदेशको साथ, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार सिंचाईमा सुधार कार्यक्रमको सुरुवात ।

-बालविवाह, बालश्रम, बालबालिकाविरुद्धको हिंसा, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन तथा गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने ।

-पाल्पा, अर्घाखाँची र रोल्पालाई हिलस्टेशनको रुपमा विकास गरिने ।
-वन, कृषि, पर्यटन, उद्योग, जडिबुटीलगायत क्षेत्रबाट उद्यमशीलताको विकाससहित आर्थिक समृद्धि हासिल गर्ने ।

-तिनाउ करिडोर, तिलौराकोट, शिवपुर, पूर्वीरुकुम र स्वर्गद्वारीमा नयाँ शहर विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने। –
-अर्घाखांची र गुल्मीलाई खोरेत रोगमुक्त जिल्ला घोषणा गरिने उल्लेख छ ।
-गुल्मीलाई गुड र कफी, पाल्पालाई ढाका र करुवाको उत्पादन हब बनाइने ।

-प्रदेशमा बालबालिका मृत्युदर, मातृ मुत्युदर, कुपोषण घटाउने।
– खेल गतिविधिमा वृद्धि ल्याउने, सडक सञ्जाल, शैक्षिक गुणस्तर वृद्धि, सुशसान, सेवाप्रवाह र गुणस्तरमा ध्यान दिने ।

-उज्यालो लुम्बिनी प्रदेश कार्यक्रम कार्यान्वयन गरिने।
-युवालाई अनुशासित बनाउन प्रदेश स्तरमा खेलकुद पूर्वाधारको विकास गर्दै ती खेलहरूलाई स्थानीयस्तरमा क्रमशः पुर्‍याउने, खेलाडीको क्षमता विकाससँगै प्रोत्साहनको कार्यक्रम अघि बढाउने ।