ललितपुर :
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो संचालक समितिका सदस्यहरुको जिम्मेवारी बाडफाड गरेको छ । बैंकको शनिबार सम्पन्न बैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप-समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो । बैंकको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु गठन गरिदै आएको छ । केन्द्रीय उप-समितिको संयोजक बैंकका सञ्चालकहरु रहने र सदस्यहरुमा सञ्चालक सहित बैंकका सदस्य संघ संस्थाका प्रतिनिधिहरु रहने व्यवस्था गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
सहकारी विभाग र नेपाल राष्ट्र बैंकबाट समिति/उप-समिति गठन सम्बन्धि निर्देशन, बैंकको स्विकृत विनियममा भएको व्यवस्थाका आधारमा बैंकको काम कारबाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न, बैंकको तोकिएका उद्देश्य प्राप्त गर्न, बैंकको व्यवसाय विस्तार, सदस्य सहकारी संस्थाको विकास तथा प्रवद्र्वनमा सहयोग गर्न उप–समिति गर्ने व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
सञ्चालक समितिले व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिको संयोजकमा मनोज कुमार थापा, शिक्षा तालिम तथा सम्मान उप-समितिको संयोजकमा माधवलाल देवकोटा, सूचना सञ्चार, प्रकाशन तथा प्रविधि उप-समितिको संयोजकमा राम बहादुर जिसी,कर्मचारी सेवा सुविधा उप-समितिको संयोजकमा पार्वती थापा, सम्पत्ती शुद्धिकरण अनुगमन उप–समितिको संयोजकमा अमृता सुब्बा, नीति निर्माण कार्यक्रम उप-समितिको संयोजकमा केदार मानन्धरलाई चयन गरेको छ ।
यस्तै लघुवित्त तथा उद्यम उप-समितिको संयोजकमा महेन्द्र कुमार गिरी, घरेलु तथा साना उद्योग विकास उपसमितिको संयोजकमा शिवा थापा, लैगिंक समानता उपसमितिको संयोजकमा तारा गुरुङ र जोखिम व्यवस्थापन उपसमिति संयोजकमा ध्रुवराज विष्टलाई चयन गरिएको बैंकले जनाएको छ ।
सात वटा प्रदेशका तर्फबाट निर्वाचित सञ्चालकहरुलाई प्रदेश प्रतिनिधि (संयोजक) को जिम्मेवारी दिइएको छ । प्रदेश संयोजकहरुमा प्रदेश नं १ मा महेन्द्र कुमार गिरी, मधेश प्रदेशमा विश्वनाथ मण्डल, बाग्मती प्रदेशमा रामहरि बजगाई, गण्डकी प्रदेशमा राम बहादुर जिसी, लुम्बिनी प्रदेशमा विजया धिताल, कर्णाली प्रदेशमा काली बहादुर महतारा तथा सुदुरपश्चिम प्रदेशमा शिवा थापा चयन भएका छन् ।
केन्द्रीय उपसमितिका सदस्यहरु तथा प्रदेश स्तरीय उप-समिति र शाखा स्तरीय उप-समितिका संयोजक तथा सदस्यहरु बैंकका सञ्चालक तथा सदस्य संघ संस्थाका प्रतिनिधिहरुलाई चयन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैंकको गत पुस १८ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन भएको थियो ।