काठमाडौं । ०३ माघ
एशियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ आउदो सेप्टेम्बरमा काठमाडौंमा सम्पन्न हुने भएको छ ।
एशियाली मुलुकका बचत तथा ऋण सहकारी संघ संस्था र सहकारी बैंक हरुको छाता संगठनको रुपमा रहेको एशियाली ऋण महासंघ (अक्कू) को आयोजना एबम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र राष्ट्रिय सहकारी बैंक को संयुक्त सह आयोजना रहने गरि ” अक्कू फोरम २०२३ ” सम्पन्न हुन लागेको हो ।
सो सम्बन्धमा नेपाल भ्रमणमा रहेका अक्कुका चिफ अफ टेक्निकल अफिसर रञ्जित हितराची र प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के नेफ्स्कून र सहकारी बैंकसँग फोरमको सहआयोजकका रुपमा छुट्टाछुट्टै सम्झौता गरेका छन् ।
आज एक कार्यक्रमका बीच एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाई बीच र गत शुक्रबार नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सन् २०२३ को सेप्टेम्बर ११ देखि १७ ( २०८० भाद्र २५ देखि ३१ ) सम्म काठमाडौंमा आयोजना हुने फोरममा २५ भन्दा बढी एशियाली रास्ट्रका ३०० जनाको सहभागिता रहनेछ । नेपालबाट पनि करिब एक सय जनाको सहभागितामा रहने अपेक्षा गरिएको छ ।
फोरममा मानव संसाधन विकास कार्यशाला, सिइओ कार्यशाला, युवा तथा महिला कार्यशाला लगायतका हुनेछन् । कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारण सभा समेत हुनेछ । यसअघि सन् २०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भएको भएपनि कोभिड १९ का कारण स्थगित भएको थियो ।