जन्मदिनको अवसरमा व्यवसायी वलीद्वारा २५ विद्यार्थीलाई सहयोग
दाङ। तुलसीपुर–५ निवासी व्यवसायी गङ्गा ओलीले आफ्नो जन्मदिनको अवसरमा २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ।
उहाँले तुलसीपुर–५ स्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा आर्थिक अवस्था कमजोर २५ जना विद्यार्थीलाई करिब २० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री तथा जुत्ता हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा बोल्दै ओलीले आफ्नो जन्मदिनलाई खर्चिलो र औपचारिकतामा सीमित नराखी समाजका आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको अनुहारमा मुस्कान ल्याउन पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले एक दिनको अनावश्यक खर्च कटाएर कसैको भविष्य उज्यालो बनाउन सक्यौं भने त्यो नै सबैभन्दा ठूलो उत्सव हो।” साथै, उहाँले सबैलाई यस्ता सामाजिक तथा मानवीय कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो।

सोही कार्यक्रममा सहभागी युवा व्यवसायी टोपबहादुर घर्ती मगरले विद्यालयमा अध्ययनरत गरिब, टुहुरा तथा अभिभावकविहीन बालबालिकाको अवस्थाबारे पहिलेदेखि नै सुन्दै आएको बताउँदै स्वयं उपस्थित भई सहयोग कार्यक्रममा सहभागी हुन पाउँदा गर्व र खुसी लागेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा सकेसम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षी कार्कीले जन्मदिनको शुभकामना व्यक्त गर्दै विद्यालयमै उपस्थित भई सहयोग गरेकोमा गङ्गा ओलीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षी कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण विद्यालयका प्राध्यापक मेघराज घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक–शिक्षिका तथा विभिन्न समाजसेवी व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।