तुलसीपुर । तुलसीपुर–६ रजौरास्थित श्री बैकटेश लक्ष्मीनारायण मन्दिरमा पहिलो पटक एक महिनासम्म अखण्ड हरिनाम संकीर्तन कार्यक्रम सुरु भएको छ। धार्मिक तथा आध्यात्मिक वातावरण सुदृढ गर्ने उद्देश्यले मंगलबारदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।
संयोजक खगेन्द्रराज बस्यालका अनुसार चैत ११ गतेसम्म निरन्तर रूपमा हरिनाम संकीर्तन सञ्चालन हुनेछ। कार्यक्रममा दैनिक भजन–कीर्तन, प्रवचन तथा धार्मिक अनुष्ठान गरिनेछ भने प्रत्येक शनिबार साँझ ७ बजे विशेष महाआरतीको आयोजना गरिने जानकारी दिइएको छ।

महायज्ञमा प्रमुख कथावाचकका रूपमा स्वामी केशवाचार्य ‘सूयंपाकी’ रहनुभएको छ। उहाँले मानव जीवनलाई भगवानको कृपाबाट सार्थक बनाउन भक्ति मार्ग आवश्यक रहेको बताउनुभयो।
व्यवस्थापक गोविन्द मरासिनीका अनुसार दाङमै पहिलो पटक एक महिनासम्म सञ्चालन हुन लागेको अखण्ड हरिनाम संकीर्तन कार्यक्रममा उपस्थित भक्तजनका लागि निःशुल्क प्रसादको व्यवस्था गरिएको छ। “दानले बुद्धि शुद्ध हुन्छ, मन शान्त हुन्छ,” भन्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
रजौरा क्षेत्र यतिबेला धार्मिक कार्यक्रमको तयारी तथा सहभागिताले उत्साहपूर्ण बनेको छ।
आयोजकले सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सहभागी भई धर्मलाभ लिन अनुरोध गरेको छ। आइतबार संस्थाले पत्रकार सम्मेलन गरेर यसको महत्वबारे जानकारी गराएको थियो।