सल्यान।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन मूल समारोह समिति गठन गरेको छ।
पार्टीका केन्द्रीय सदस्य प्रकाश ज्वालाको संयोजकत्वमा ६ वटा उपसमिति तथा सबै उपसमितिका संयोजकहरू सम्मिलित निर्वाचन परिचालन सचिवालय समेत गठन गरिएको हो।
मूल समारोह समितिको सहसंयोजकमा केन्द्रीय सदस्य टेकबहादुर बस्नेत र सचिवमा रत्नबहादुर वलीलाई जिम्मेवारी दिइएको छ। विहिबार पार्टी कार्यालय खलंगामा सम्पन्न बैठकले केन्द्रीय स्तरका विभिन्न नेताहरूलाई उपसमितिको नेतृत्व जिम्मा दिएको छ।
कृति बहादुर पुन, लोक बहादुर डाँगी, रमेश गौतम, मान बहादुर मल्ल, इन्द्र कुमार शर्मा र भद्र सिंह बुढालाई विभिन्न उपसमितिका संयोजकको जिम्मा दिइएको छ।
बैठकले निर्वाचन लक्षित तीन चरणका कार्यक्रमहरू समेत तय गरेको छ। पहिलो चरण अन्तर्गत प्रशिक्षण, मतदाता सर्वेक्षण, पर्चा वितरण तथा चुनाव चिन्ह वितरणका कार्यक्रम सञ्चालन गरिनेछ। यस क्रममा माघ ११ गते छत्रेश्वरी, माघ १२ गते कपुरकोट, माघ १३ गते शारदा, माघ १४ गते सिद्धकुमाख र माघ १५ गते बागचौरमा कार्यक्रम आयोजना गरिनेछ।

त्यस्तै माघ १६ गते दार्मा, माघ १७ गते कुमाख, माघ १८ गते बन्गाड कुपिण्डे र माघ १९ गते कालिमाटीमा कार्यक्रम तय गरिएको छ। माघ २० गते त्रिवेणीमा कार्यक्रम आयोजना गर्दै विभिन्न समितिको संयुक्त समीक्षा गरिने पार्टीले जनाएको छ।
दोस्रो चरण अन्तर्गत माघ २१ देखि फागुन १५ गतेसम्म तीनवटा टिम गठन गरी जनसभा, जनभेला तथा जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी तेस्रो चरणमा फागुन १६ देखि १८ गतेसम्म मतदाता शिक्षा तथा भेटघाटका कार्यक्रम गरिनेछन्।