दाङ। नेपाल बुद्धिजीवी संगठन दाङको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्ला अध्यक्ष माधव न्यौपानेको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले डा. भीमसेन गिरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिमा डा. गिरी अध्यक्ष चयन हुनु भएको छ भने उपाध्यक्षमा बाबुराम अधिकारी, भरत पोख्रेल र कमला श्रेष्ठ चयन हुनुभएको छ। सचिवमा केशरमान बुढाथोकी, सहसचिवमा देवेन्द्र शर्मा, कोषाध्यक्षमा तारा भुसाल र अर्को एक जना सहसचिव पछि थप गरिने जनाइएको छ।
त्यस्तै, समितिका सदस्यहरूमा ओमप्रकाश ज्ञवाली, दोर्ण खड्का, शालिकराम ओली, हुमबहादुर खड्का, माधव चौधरी, लोककुमार श्रेष्ठ, देवप्रकाश घर्ती, नारायण पौडेल, बामदेव सापकोटा, सन्तोष गिरी, मोहन नेपाली, विजय जीएम, तिलकराम शर्मा, साधना शर्मा, बालिका तिवारी, जनमत चौधरी लगायत रहनुभएको छ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले माओवादी पार्टीले देशमा परिवर्तनका लागि खेलेको भूमिकाको चर्चा गर्दै बुद्धिजीवी संगठनले समाजको समृद्धि र विकासमा प्रभावकारी योगदान गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टी र समाजबीच पुलको भूमिका निर्वाह गर्दै संगठनले सशक्त काम गर्नुपर्ने अपेक्षा राख्नुभयो।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा दाङ इन्चार्ज निर्मल आचार्यले बुद्धिजीवी संगठनलाई सामाजिक रूपान्तरणको विश्वसनीय संयन्त्रको रूपमा उल्लेख गर्दै अझ सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ ले बुद्धिजीवीले समाजलाई मार्गदर्शन दिने खालको विचार प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बुद्धिजीवी, सामाजिक अभियन्ता, राजनीतिक प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।