दाङको तुलसीपुरमा यही कात्तिक ८ बाट सर्प महोत्सव हुने

century-mk

तुलसीपुर । दाङको तुलसीपुरमा सर्प महोत्सव हुने भएको छ ।  आयोजक संस्था ‘हामी संरक्षणका लागी काम गर्छौं ‘का अनुसार  मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण गर्ने र वातावरण सन्तुलन कायम राख्नका लागि सर्पको संरक्षण गर्ने सर्प महोत्सव-२०८१ को उद्देश्य रहेको छ।

संस्थाले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सर्प महोत्सव तथा मानव वन्यजन्तु बिच सम्बन्ध सचेतना कार्यक्रम तुलसीपुरको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा यही कार्तिक ८, ९ र १० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सन्दिप वलीले जानकारी दिनुभयो। अध्यक्ष वलीका अनुसार महोत्सवमा विषालु सर्पको प्रदर्शन, विषालु सर्प र अविषालु सर्प चिन्ने तरिका, मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण लगायतका विषयमा विशेषज्ञद्वारा जानकारी गराइने छ ।

त्यसैगरी सर्प उद्धार अभियन्ता प्रभात भण्डारीका अनुसार  महोत्सवमा सर्पबाट बच्ने सजिलो उपाय र सर्पले टोकेपछि गरिने प्राथमिक उपचार तथा अस्पतालमा गरिने उपचार पद्धतिका विषयमा सर्पदंशमै कार्यरत चिकित्सकबाट जानकारी दिइनेछ ।

तिनदिनसम्म हुने उक्त महोत्सवमा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र दंगिशरण गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ८ देखि माथिका विद्यार्थीहरू, वडा तथा टोल प्रतिनिधि र सामुदायिक वनका प्रतिनिधिलाई समेत विषालु र अविषालु सर्पको पहिचान गराइने आयोजकले संस्थाले जनाएको छ । झन्डै २० हजार बढीले महोत्सव अबधिभर अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको दाबी छ ।

आयोजक संस्थाका अध्यक्ष सन्दिप वलीको अध्यक्षतामा भएको आजको कार्यक्रममा उपाध्यक्ष वसन्त सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव गरिमा डाँगीले गर्नुभएको थियो ।