Logo
२७ भाद्र २०८१, बिहीबार

तुलसीपुर उपमहानगरले १५ वटा विद्यालयमा एक-एक जना अनुदान शिक्षक दिने

century-mk

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना ल्याएको छ ।

उपमहानगरभित्रका विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गर्ने र शिक्षकले प्रधानाध्यापकसँग करार सम्झौता गर्नुपर्ने योजना ल्याएको उपमहानगर प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयको स्तर खस्किदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौता गर्न लागिएको हो ।

‘सामुदायिक विद्यालयको स्तर खस्किदो क्रममा छ’– खड्काले भन्नुभयो– ‘त्यसलाई सुधार्न करार सम्झौता गर्न लागेका हौं ।’ सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिनेछ । राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहान गर्न सेवा सुविधा थप गरिने उपमहानगरले जनाएको छ । शैक्षिक सुधार अभियानअन्तर्गत उपमहानगरको शिक्षा समितिले तीनवटा विद्यालयमा पुस्तकालय र चारवटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्ने निर्णय समेत गरेको छ । जनज्योति आधारभूत विद्यालय घोरनेटी, आधारभूत विद्यालय सुन्दरनगर र आधारभूत विद्यालय कटाहामा पुस्तकालय स्थापना हुनेछन् । यस्तै सरस्वती मावि सल्लीवन, जनज्योति मावि रनियापुर, मावि बेलझुन्डी र जनकल्याण मावि दुधरासमा विज्ञान प्रयोगशाला निर्माण गरिनेछ । मावि बालापुर, मावि दमारगाउँ, मावि प्रतापकोट, मावि कालाखोला, मावि दोघरे, मावि हरिपौरा, मावि तुई रनियापुर, मावि अम्बापुर, मावि कुटेचौर मावि भित्री सक्राम, मावि बेलझुन्डी, मावि नवलपुर, सल्लीवन, आधारभुत विद्यालय कोठरी र आधारभुत विद्यालय हरनेटी गरी १५ वटा विद्यालयमा एक/एकजना अनुदान शिक्षक दिने निर्णय समेत गरिएको छ ।

काजमा रहेका प्राविका शिक्षकलाई सोही ठाउँमा पदस्थापना गर्ने, संघीय अनुदानका शिक्षकलाई तीन महिनाको तलब व्यवस्था गर्ने र सबै विद्यालयमा अक्षर सुधार कार्यक्रम लागु गर्ने निर्णय गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय छन् ।