तुलसीपुर उद्योग वाणिज्य संघको यहि शनिबार अर्थात बैशाख २९ गते हुन लागेको निर्वाचनमा ललित जंग शाह नेतृत्वको संयुक्त ब्यवसायिक प्यानलको तर्फबाट उद्योग उपाध्यक्षका उम्मेदवार विश्व बस्नेतसंग गरिएको कुराकानीको सार :
१. तपाईंको व्यवसायीक यात्राको अनुभव के छ ?
म सानोमा हुँदा खेलकुद र टेक्नोलजीमा बढी रुचि थियो । मेरो अधिकांश समय त्यसमै बित्ने गर्दथ्यो । म मेरो परिवारकै कारण व्यवसायमा जोडिएको हुँ । मेरो हजुरबुवा डिल्ली बहादुर बस्नेत उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष हुनुहुन्छ । म कक्षा १२ पुरा गरेपछि माथिल्लो शिक्षा लिदै गर्दा साइन्स लिएर कलेज भर्ना भएँ । तर उद्देश्य डाक्टर पढ्ने थियो । तर त्यही बिचमा घर परिवारमा व्यवसायकै बारेमा छलफल भयो । त्यसपछि स्नातक तहको पढाइ बिजनेशबाट गरेँ । त्यसबीचमा म थुप्रै व्यावसायिक प्रतिष्पर्धामा भाग लिने मौका पाएँ । त्यसपछि मलाई व्यवसाय क्षेत्रमा इच्छा लागेको हो ।
२. कति वर्षको उमेरमा व्यवसाय शुरु गर्नुभएको थियो ?
म स्नातक पढ्दै गर्दा कलेजमा दराज कम्पनीले एउटा कार्यक्रम गरेको थियो । कम्पनीले अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्दै गर्दा के कस्ता समस्या छन् ? त्यसलाई सुधार गर्न सकिने उपाय के हुन सक्छन् भन्ने सवालमा कार्यक्रम गर्दथ्यो । त्यो कार्यक्रममा हाम्रो कलेजले गरेको आइडिया टप थ्रि मा परेर सम्मानित भयो । त्यसमा पहिलो पुरस्कार पाइसकेपछि र कलेजमा पनि नयाँ नयाँ कुरा सिक्दै जाँदा मैले २० वर्षको उमेरमा , कोभिड शुरु हुँदै गर्दा पहिलो व्यवसाय सुरुवात गरेको थिएँ ।
३. कुन व्यवसाय थियो ?
म सानैदेखि खेलकुद र टेक्नोलोजीसँग नजिक भएका कारण एपबाटै खेलाडीलाई खेल्ने ठाउँसम्म जोडने व्यवसाय शुरुवात गरेको थिएँ । सन् २०२० मा सुरुवात गरियो तर कोभिड शुरु भएका कारणले व्यवसायलाई निरन्तरता दिन केहि कठिनाई भए । करिब ९ महिना केही गर्न पाएनौँ । तर पनि घरमै बसेर सोसल मिडियाबाटै काम गरेर भएपनि करिब ४ हजार जना ग्राहक बनाइसकेका थियौँ । २०२० मा कोभिड शुरु भएपछि केही समस्या भएपनि अहिले १४ हजार बढी ग्राहक बनाइसकेका छौँ । यसरी मेरो व्यापारिक यात्रा शुरु भएको थियो भने घरमा भने गणपति मिल छ, त्यसबाट धेरै कुरा सिक्ने मौका पाएको हुँ ।
४. तपाईँलाई अहिले मतदाताले किन जिताउने ?
सबैभन्दा पहिला कुरो त आम मतदाताले युवा नेतृत्व खोजिरहनुभएको छ । उद्योग वाणिज्य संघमा मात्र नभएर अन्य संघ संस्थामा पनि यो कुराहरू उठिरहन्छ । मेरो उम्मेदवारी यसपक्षबाट हो । तर कुरा यतिमा सिमित रहदैँन । आइडिया दिन सक्ने युवा नेतृत्व चाहिन्छ । जसले म केही गर्न चाहन्छु, दिशा देखाउन सक्छ , त्यसलाई नै मतदाताले खोज्नुभएको हो । त्यसकारण मैले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
५. तपाईँका व्यावसायिक एजेण्डा के छन् ?
मेरा व्यावसायिक एजेन्डा तीन कुरा प्राथमिकतामा छन् । पहिलो एजेन्डा भनेको युवालाई व्यवसायमा सफल कसरी बनाउन सकिन्छ भन्ने नै हो । हाम्रो प्यानल भनेको साना पुँजीका व्यवसायीदेखि ठुलो पूँजीका सबै किसिमका व्यवसायी जोडिएको प्यानल हो । सबै प्रकारका विचार अटाउने गरि बनाएको प्यानल हो । तेस्रो कुरा तुलसीपुर बजारलाई प्राथमिकता दिएर सुन्दर र सभ्य तुलसीपुर बनाउने हो । अनि तुलसीपुरलाई अन्य सहरसँग व्यावसायिक यात्रामा जोड्न सकिने विषय पनि छ । यसकारण पनि हाम्रो प्यानल चुनावी मैदानमा छ ।
६. नेतृत्वमा आउन अलि हतार भयो कि भन्छन् नि ?
हो तपाईंले भनेजस्तै मलाई कतिपयले यो किसिमको प्रश्न गर्नुहुन्छ । तर मलाई त्यस्तो लाग्दैन । उमेरलाई हैन्, कर्मलाई हेर्नुपर्छ भन्ने हो । हामीले कर्म कति राम्रो गर्न सक्छौँ भन्ने हो । यो शिक्षा मलाई घरपरिवारबाटै मिलेको हो । अहिले भइरहेका काम र आगामी दिनमा गर्न सकिने कामका बारेमा पूर्ण प्रतिवद्ध छु ।
अन्तमा केही भन्नु छ की ?
तुलसीपुरको समृद्धि नै हाम्रो समृद्धि हो । समृद्धि कतैपबाट टपक टिपरेर ल्याउने कुरा हैन । त्यो हामीहरुले गर्ने कर्ममा भर पर्छ । हाम्रा व्यवसायीक मुद्दा कस्ता हुन्छन ? हाम्रो उद्देश्य र लक्ष्य के हो ? त्यसमा क्लियर हुन आवश्क छ । त्यसका लागि विभिन्न राजनीतिक आस्थाका कारण कुनै बेला भाँचिएका हाम्रा मन र भावनाहरु एक ठाउँमा जोडिन आवश्यक छ । हामी कसैलाई निषेध गरेर अगाडी बढ्दैनौ । व्यवसायीको नेतृत्व गर्ने छाता संगठन तुलसीपुर उद्योग वाणिज्य संघ भित्र विभाजन आउनु दुःखद कुरा हो ।
तर हामी वाणिज्य संघ भित्र सबैको समान अस्थित्व स्थापित गर्न चाहन्छौ । पैसाकै कारणले कर्मठ, योग्य र सक्षम व्यवसायीलाई पाखा लाग्ने अवस्थाबाट मुक्ता गर्न चाहन्छौ । हाम्रो लडाई यसका विरुद्ध पनि हो । त्यस कारण तिबेला आम व्यवासायी मतदाताले व्यवसायीक उत्पिडनका विरुद्ध हामीलाई आफ्नो अमूल्य भोट दिएर न्याय गर्नुहुनेछ भन्ने अपेक्षामा सयुंक्त प्यानलका हामी उम्मेदवार बसेका छौ । हाम्रो जित नै आम तुलसीपुरबासी व्यवसायीको जित हो।