Logo
१५ फाल्गुन २०८०, मंगलवार

शुक्रवार राती भएको आगलागीमा परी बर्दियामा चार जनाको मृत्यु

century-mk

दाङ । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ ।

यता बर्दिया गुलरिया नगरपालिका ४ का २७ वर्षीया करिश्मा चन्द घाइते हुनु भएको छ ।