काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार ललितपुरको च्यासलमा ज्यापु समाज पाटन(यल:)को ३० औं साधारणसभाको उद्घाटन गर्नुभएको छ। त्यसक्रममा उहाँले श्रमिक र किसानको पहिचान बोकेका ज्यापु समुदायले नेपाल मण्डलको आदिवासीका रूपमा आफ्नो मौलिक परम्परा, लोक संस्कृति, शिक्षा, स्वास्थ्य र समाजका धेरै क्षेत्रमा प्रसंसनीय योगदान गरेको बताउनुभयो।
विविधताबीचको नेपाली धार्मिक एवम् जातीय एकता भाँड्ने तत्वहरू सक्रिय रहेपनि तिनलाई परास्त गर्दै राजनीतिक परिवर्तनलाई जनताको जीवनस्तर परिवर्तनमा रुपान्तरित गर्न भ्रष्टमाथिको कार्वाही र सुशासन अभियानलाई निष्कर्षमा पुर्याईने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।शिक्षा र स्वास्थ्यमा उच्च प्रतिभासहित योगदान गर्ने समुदायका व्यक्तित्वहरूलाई उहाँले सम्मान समेत गर्नुभयो।