संघीय सहकारी विभाग नयाँ बानेश्वरले सहकारी संघ संस्था हरुलाई गो एम एल सिस्टममा आवद्ध भई रिपोर्टिङ गर्न गत सोमबार एक विज्ञप्ति जारि गर्दै निर्देशन जारी गरेको छ । वार्षिक रु १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुले गोएमएल सिस्टममा आवद्ध हुनुपर्ने प्रावधान रहेको छ । सोही अनुरुप नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाईबाट सहकारी संस्थाहरुलाई आवद्ध गराउन पटकपटक विभागमा अनुरोध भई आएकाले सोही बमोजिम सबै संस्थाहरुलाई उक्त सिस्टममा अनिवार्य आवद्ध हुन विभागले आव्हान गरेको छ ।
विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीहरुलाई केन्द्रिय बैंकको वित्तीय जानकारी ईकाईमा रहेको go AML को Test Environment तथा Production Environment मा यथाशीघ्र रजिष्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन Threshold Transaction Report-TTR, शंकास्पद कारोबार प्रतिवेदन Suspicious Transaction Report – STR, र शंकास्पद गतिविधि प्रतिवेदन Suspicious Activity Report-SAR जस्ता विवरणहरु प्रणालीमा प्रेषित गर्न आव्हान गरेको छ ।
सम्पत्ति शुद्दीकरण निवारण ऐन २०६४ र सो अन्तर्गत बनेको नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सम्पत्ति शुद्दीकरण निवारण सम्बन्धमा यस अघि नै तेश्रो संशोधन २०७४ समेत जारी गरिसकेको छ ।