तुलसीपुरको निति तथा कार्यक्रम: किसानलाई नगद अनुदान,एक वडा एक पोखरी निर्माण

century-mk

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आफ्नो निति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख टीकाराम खड्काले आगामी आर्थिक वर्षमा पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार,कृषि , विकास, सुशासन प्रवर्द्धन,भूमि ब्यवस्थापन,सस्थागत बिकास तथा सुशासन लाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वार्षिक रूपमा एक हजार खसीको मासु र एक हजार किलो स्थानीय जातका कुखुराको मासु उत्पादन गर्ने किसानलाई प्रति किलो दश रुपियाँ अनुदान दिइने जानकारी दिनुभयो ।

 यस्तै वार्षिक पन्ध्र सय लिटर दूध उत्पादन गर्ने  तुलसीपुरका किसान  लाई प्रतिलिटर पाँच रुपियाँ अनुदानको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रममा रैथाने जातको  (सिम्ठारो र तिल्की) धान उत्पादनका लागि वडा नम्बर ४, ११, १८ र १९ लाई पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ ।

यसैबीच कृषितर्फ कृषि विद्युत मिटर महसुलमा छुटको व्यवस्था गरिएको छ । उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षातर्फ दलित, शहीद परिवार, जनआन्दोलनका घाइते, अति विपन्नमध्येबाट डाक्टर, इन्जिनियर, प्राविधिक शिक्षा स्नातक तह पढ्नेका लागि मासिक पाँच हजार मेयर छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा कक्षा ६ सम्म सामुदायिक विद्यालयमा खाजा कार्यक्रम, कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम, सुस्त श्रवण र दृष्टिविहीन बालबालिकाहरूका लागि आवासीय पठनपाठनको व्यवस्था गरिने भएको छ  ।

साथै विद्यालय बाहिर वडा कार्यालय, विद्यालय व्यवस्थापन समितिले तोकेको सीमा क्षेत्रभित्र मादक पदार्थ, सुर्तीजन्य पदार्थ र पत्रुखाना निषेध गर्ने भएको छ । सिँचाइ सुविधा र जैविक विविधता संरक्षण गर्नका लागि एक वडा एक पोखरी निर्माण गरिने भएको छ ।

यसैगरी परम्परागत बाजा संरक्षणका लागि तुलसी महिला नौमति बाजा समूह, ग्वार खोला र तुही मानव सभ्यताको खोज अनुसन्धान, विद्युतीय सवारी साधन चार्जिङ्ग केन्द्र, चालिस माइक्रोनभन्दा पातलो प्लास्टिक निषेध गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।