Logo
१९ मंसिर २०८१, बुधबार

पहिले बन्दुक पछि कलम बोकेकी लामिछाने बनिन् नलगाड नगर उपप्रमुख

century-mk

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको नगर उपप्रमुखमामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी हुनुभएको छ।

उहाँ  ४२७२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहले ३१४७ मत पाएर दोस्रो स्थान कायम राख्नुभएको छ । यस्तै एमाले उम्मेदवार सुनिता बोहरा २५४२ मत ल्याउदै तेस्रोमा रहनुभएको छ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीको सहयोगमै कांग्रेस उम्मेदवार सुनिता सिंह उपमेयरमा निर्वाचित हुनुभएको थियो । तर, जाजरकोट भूकम्पमा परेर १७ कात्तिकमा सिंहको निधन भएको थियो ।

रिक्त रहेको पदमा आइतबार भएको निर्वाचनमा माओवादी उम्मेदवार लामिछानेले जित निकाल्न सफल हुनुभएको हो । उनको जितसँगै नलगाड नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादी केन्द्रका बनेका छन् । नगरपालिकाका अधिकांश वडामा समेत माओवादी जनप्रतिनिधिको बाहुल्य रहेको छ ।

उपनिर्वाचनका लागि मत माग्न खटिएका माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले चुनावीसभामा जाँदा मेयर र उपमेयर सेट नै एउटै पार्टीको भए काम गर्न सहज हुने भन्दै भोट माग्नुभएको थियो।

‘माओवादीले नलगाडलाई विकासको एउटा नयाँ मोडलका रूपमा देखाउन चाहेको छ, कुनै बेला हामी मोडल जिल्ला भन्थ्यौं, त्यतिबेला स्रोत, साधन थिएन’ बस्नेतले भन्नुभएको थियो, ‘तर, अब उपमेयर पनि हाम्रै पार्टीबाट निर्वाचित गराएर मोडल नगरका रूपमा विकास गर्छौं ।’

नलगाड नगरपालिकामा सेट नै विजयी भएपछि आउने अवसरलाई सदुपयोग गरेर नमुना काम गरेर देखाउने बस्नेतले बताउनुभएको छ । माओवादीबाट निर्वाचित उम्मेदवार लामिछानेले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेको हिसाबले नलगाडको विकासका लागि आफूले अधिकतम काम गर्ने बताउनुभयो ।

‘टिमसँग काम गर्ने कुरा त छँदैछ’, उहाँले भन्नुभयो , ‘उपमेयर पद न्याय सम्पादनसँग जोडिएकाले मेरो प्राथमिकता विना भेदभाव सबै जनतालाई समान रूपले सुविधा दिन पहल गर्ने हुनेछ ।’

नलगाड नगरपालिकाभित्र विकट क्षेत्रहरू पर्ने भएकाले हालसम्म कृषि उत्पादनलाई बजारसँग जोड्न कठिनाइ भएको भन्दै उनले भनिन्, ‘कृषि बजारीकरणका लागि भौगोलिक विकटताका कारण जुन समस्या छ, त्यसलाई चिर्ने गरी काम गर्नेछु ।’ शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र खानेपानी पनि आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

बन्दुक पछि कलम बोकेकी उनि बनिन् नगर उपप्रमुख

सल्यानको तत्कालीन सुबिकोट गाविसमा जन्मिनुभएकी नवनिर्वाचित उपमेयर लामिछाने विद्यार्थी राजनीतिक हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले २०५० सालमा जनता मावि, रागेचौरमा जनमोर्चा नेपालको मुल ईकाई कमिटी सदस्य बनेर काम गर्नुभएको थियो ।

२०५३ सालमा उनले माओवादीको पार्टी सदस्यता लिनुभएकि लामिछाने ०५४ सालमा माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघको जाजरकोट उपाध्यक्ष बन्नुभएको थियो। त्यसबेलादेखि अर्धभूमिगत हुँदै उहाँ पछि महिला संघको अध्यक्ष समेत बन्नुभयो ।

त्यसबेला एक वर्षको बच्चा लिएर आफू युद्धमा होमिएको उहाँ  यसरी सम्झिनुहुन्छ । ‘कष्टकरपूर्ण जंगलको यात्रा हुँदै तत्कालीन दुस्मनसँग लड्नुपर्दा मैले छिप्रेना गाउँमा बच्चालाई एक स्थानीय कहाँ छाडेर बाँचे पालिदिनु, नबाँचे फाली दिनु भनेर हिँडेको अहिले जस्तो लाग्छ’, उहाँले स्मरण गर्दै भन्नुभयो, ‘पुराना दिन सम्झिसक्दा मलाई त्यो समयको याद आउँछ ।’

२०५७ सालमा माओवादी पार्टीको जिम्मासहित डोल्पातिर गएकी लामिछाने माओवादी केन्द्र डोल्पा जिल्ला पार्टी सचिवालय सदस्य र एरिया इञ्चार्ज समेत बन्नुभएको थियो । दुई वर्ष डोल्पा बसेपछि उनी फेरि २०५९ सालमा जाजरकोट फर्किएकी थिइन् । २०६० सालपछि उनी जाजरकोटसहित बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत लगायत केही भूगोलसहितको विशेष जिल्लामा सरुवा भएकी थिइन् ।

२०६२ सालमा उनी जनमुक्ति सेनामा कम्पनी कमिसार हुँदै बटालियन कमिसार समेत बन्नुभएकि लामिछाने २०६४ सालबाट भने रेडियो जनआवाज, नेपालगञ्जमार्फत पत्रकारिकतामा पनि प्रवेश गर्नुभएको थियो । उहाँ  माओवादी केन्द्र निकट प्रेस सेन्टरको कर्णाली प्रदेश उपाध्यक्ष समेत हुनुभएको थियो।

अहिले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकि इन्द्रा चन्द सिंहलाई हराउँदै माओवादी केन्द्रबाट उहाँ नलगाड नगरपालिकाको उपमेयरमा निर्वाचित हुन सफल हुनुभएको छ ।