Logo
१७ मंसिर २०८१, सोमबार

उद्यमीका लागि तुलसीपुरमै उद्योग ग्राम स्थापना हुन्छ : नगर प्रमुख खड्का

century-mk

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले स्थानीय उद्यमी तथा अन्य लगानीकर्ताका लागि तुलसीपुरमै उद्योग ग्राम स्थापना गर्ने गरि निति तथा  कार्यक्रम अगाडि बढाएको बताउनु भएको छ ।

उपमहानगरपालिका द्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ दशौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आइतबार तुलसीपुरमा आयोजित ‘स्थानीय स्तरमा उद्योगहरुको अवस्था,चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले आफु नेतृत्वमा रहेकै समयमा तुलसीपुरमा उद्योग ग्राम स्थापना गरि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई सफल तुल्याउन  ब्यवसायि,उद्योगि लगायत अन्य सबैको उत्तिकै सहयोग आवश्यक रहेको कुरा औँल्याउदै आवश्यक सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

नगर प्रमुख खड्काले पछिल्लो समय तुलसीपुरका उद्योगि,ब्यवसायिमा देखा परेको निराशालाई चिर्न पनि स्थानीय सरकार र उद्यमि तथा ब्यवसायि क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो । कानुनी रूपमा देखा परेका  केहि जटिलतालाई हटाएर ब्यवसायि मैत्री कानुन बनाउन स्थानीय सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थियो ।

यस्तै वडा नम्बर १८ का वडा अध्यक्ष तथा उपमहानगर प्रबक्ता माधव वलीले दर्ता एकातिर काम अर्कोतिर गरेर भद्रगोल भएको ब्यवसायि वातावरण हटाउन स्थानीय सरकार नीतिगत रूपमै लागेको जानकारी गराउनुभयो । आफुहरु तुलसीपुर क्षेत्रका उद्योगिका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न तयार रहेको बताउदै दक्ष जनशक्ति स्थानीय उद्योगमै रोजगारी दिन पनि निजीक्षेत्रको उत्तिकै सहयोगको खाँचो औँल्याउनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिश्व बस्नेतले तुलसीपुरमा लगानी गर्ने बाताबरण र बजार  छैन भन्ने बाहिरी हल्लालाई चिर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै तुलसीपुरमा कुन ब्यापार तथा उद्योग राम्रोसँग अगाडि बड्नसक्छ ? भन्ने उपमहानगरपालिकाले डाटा बेसमा तथ्यांक केलाएर त्यहि किसिमको ब्यापार ब्यवसाय गर्न जोड दिने,ब्यवसायिको शान्ति सुरक्षा संगै स्थानीय कर लगायतमा सहुलियत दिन सकेमात्र पुराना तथा नयाँ उद्योगि,ब्यवसायिले थप लगानी गर्ने वातावरण बन्ने सम्भावना रहेको बताउनु भयो।

तुलसीपुर चेम्बरका उपाध्यक्ष सन्तोष खड्का, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसी लगायतले बजार चलायमान बनाउनका लागि स्थानीय सरकारले साना तथा ठुला ब्यवसायिलाई सहयोग पुग्ने खाले झन्जड नहुने निति बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको समन्वयमा भएको उक्त कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता वर्षा थापाले गर्नुभएको थियो ।