बाढी पहिरो वितन्डा : देशभर मृतकको संख्या ८७ पुग्यो, ७२ जना अझै बेपत्ता

century-mk

काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार राति ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ।

यसअघि साँझ ५ बजेसम्म देशभर ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अन्य ७२ जना अझै बेपत्ता रहेको बताउनुभयो। उहाँका अनुसार हालसम्म ३६ जना घाइते भएका छन्।

उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो। बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन्।उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेरशनिबार राति ८ः३० बजेसम्म ८७ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा २६ जना बेपत्ता छन्।यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन्।