नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको प्रथम वार्षिक साधारण सभा सम्पन्न

century-mk

तुलसीपुर।नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाले आज आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको  छ।

साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गर्नुभएको थियो।साधारणसभालाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले कृषि र पर्यटन पनि एउटा उद्योग भएकाले यसलाई पनि उद्योगसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिन आग्रह गर्नुभयो । कुनै दिन चुलोचौकामा मात्र सीमित महिलाहरु पछिल्ला दिनमा उद्योगको क्षेत्रमा जोडिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

मन्त्री न्यौपानेले पछिल्लोपटक धमाधम बन्द हुने अवस्थामा रहेका उद्योगहरुको पहिचान गरि, के कारणले उद्योग बन्द हुने अवस्थामा पुगे ? भन्ने विषयमा सरकारसँग उद्योग संचालकले  कुरा समयमै राखेमा आफुहरुले उद्योग सञ्चालनको लागि पहल गर्ने बताउनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-१८ नम्बर वडा अध्यक्ष,कार्यबाहक नगर प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि माधव वलीले स्थानिय उत्पादनलाई पश्रय दिए मात्रै उद्योगको क्षेत्रमा गति लिन सकिने धारणा राख्नुभयो ।तुलसीपुरमा बिहान ९ बजे देखी सुरु भएको प्रथम साधारण सभाले विभिन्न विषय उपर आवश्यक छलफल गरी महासचिव  भद्र बहादुर वलीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षतामा भएको उक्त  कार्यक्रममा नेपाल घरेलु उद्योग महासंघ दाङका अध्यक्ष लब अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका सह-कोषाध्यक्ष दिपेश भण्डारी, तालिम तथा रोजगार केन्द्र लुम्बिनी प्रदेशका देवराज अधिकारी, तुलसीपुर चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, तुलसीपुर खानेपानी सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाले छोटो समयमा थुप्रै रचनात्मक कार्यक्रम गर्न सफल भएको भन्दै आगामी दिनमा अझ बढी घरेलु उद्योग,ब्यवसायिका पक्षमा कार्य गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका महासचिव भद्र बहादुर वलीले गर्नु भएको थियो ।