दाङ । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ।
आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्माले आफ्नो प्रस्तुति दिदा महोत्सव स्थल भरिएको थियो।गाएक शर्माले ‘आउँछौ आउदिनौं’,‘तिम्रो थर मेरो थर’, ‘मुटु जलाइ जलाइ’,‘मलामि’ जस्ता चर्चित गीतहरू गाउँदा दर्शकहरूले अपार साथ दिएका थिए । शर्माले तुलसीपुर महोत्सवमा देखाएको अपार मायाले आफुलाइ थप उर्जा मिलेको अनलाइन सन्देशलाई बताउनुभयो।

महोत्सवमा आज गायिका सिम्रन परियार र एमटी महरले समेत प्रस्तुति दिनुभएको थियो। महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । महोत्सव फागुन १६ गतेसम्म चल्नेछ। हरेक दिन दर्शकको भीड बढ्दै गएको छ। मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवर्द्धनमा टेवा पुर्याएको छ।

आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन्।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो।

भोलि चर्चित कलाकार रचना रिमालका साथ स्थानीय कलाकारको समेत बिशेश प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले जानकारी दिनुभयो ।
‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उहाँले भन्नुभयो–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।

मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताउनु भयो। आजको कार्यक्रम संचालन मदन मुस्कान र अनुप पुनले संयुक्त रुपमा गर्नुभएको थियो।