दाङ । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहान र लोकप्रिय गाएक शक्तिकप चन्दको प्रस्तुतिमा उल्लेख्य दर्शक उपस्थित भएका छन् । चौहान र शक्तिकप चन्दले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरु नाच्दै गाउँदै अपार साथ दिएका थिए।

एलिनाले ‘धोकेबाज हौ तिमी’, ‘दुश्मन हेरेको हेरेइ’, ‘मिनिरल वाटर’ जस्ता चर्चित गीतहरू गाउँदा दर्शकहरू झुमेका थिए ।यस्तै शक्तिकप चन्दले ‘सल्यानी टप्पा’, ‘ओठे ओठे’, ‘फुल्दै फुल्दै जाउ’, ‘ रनपुत्ले गाइका’ जस्ता चर्चित गीतहरू गाउँदा दर्शकहरू नाचेर धुलो उडाएका थिए । आज कार्यक्रमस्थलमा दर्शकको उपस्थिति उल्लेखनीय देखिएको साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । उहाँले भोलि पनि चर्चित कलाकारको प्रस्तुति रहने बताउनुभयो ।

‘स्थानीय कलाकारहरूसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको प्रस्तुति पनि हुने क्रम जारी रहेको छ ।’ उहाँले भन्नुभयो–‘एलिना र शक्तिकप चन्दको प्रस्तुति महोत्सवकै मुख्य आकर्षक भएको बताउनुभयो ।अब झन्पछि झन् दर्शकको ओइरो लाग्नेक्रम जारी छ ।’ महोत्सवमा दाङसहित रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्वबाट पनि दर्शकको उपस्थिति हुने गरेको छ ।
तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको यो महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । महोत्सवमा व्यापारिक स्टलहरू, स्थानीय कला संस्कृति प्रदर्शन, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले बताउनुभयो ।

‘महोत्सवमा झन्पछि झन् दर्शकको सहभागिता बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो–‘आज त झन् ‘उल्लेख्य दर्शक आउनुभएको छ।’ आयोजकहरूका अनुसार यो वर्ष महोत्सवमा ५०० भन्दा बढी स्टल राखिएका छन् ।